राष्ट्रिय सहमति बिना निर्णय गरे देश फेरि द्वन्द्वतर्फ जान सक्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिबिना महत्त्वपूर्ण निर्णय लिन खोजिए देश फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्। लमजुङबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शनिबार प्रतिक्रिया दिँदै उनले वर्तमान निर्वाचन परिणामले मुलुकमा नयाँ समस्या निम्त्याउन सक्ने बताएका हुन्।

उनले निर्वाचन परिणामअनुसार कुनै दलले ठूलो बहुमत प्राप्त गरे पनि त्यसलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताएका छन्। संविधान संशोधनबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने भन्दै उनले संघीयता र समावेशी निर्वाचन प्रणालीबारे नयाँ शक्तिहरूको दृष्टिकोण स्पष्ट हुन आवश्यक रहेको उल्लेख गरे। राष्ट्रिय सहमतिको आधारबाहेक जबर्जस्ती निर्णय गरिए मुलुकमा पुनः द्वन्द्वको अवस्था आउन सक्ने उनको भनाइ छ।

गुरुङले यसपटकको निर्वाचनमा मतदाताले एजेन्डाभन्दा ‘नयाँ’ भन्ने नारालाई बढी प्राथमिकता दिएको टिप्पणी पनि गरेका छन्। उनका अनुसार सामान्यतया निर्वाचनमा राष्ट्रियता, विकास, सुशासन र संविधानजस्ता विषयमा बहस हुने भए पनि यसपटक जनताका वास्तविक समस्या समाधान गर्ने एजेन्डामाथि पर्याप्त छलफल भएन। उनले संविधान कार्यान्वयन र राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलबीच सहमतिका आधारमा निर्णय लिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया