ऊर्जामन्त्री खड्का र यूएई मन्त्रीबीच भेट, दीर्घकालीन सहकार्यमा जोड

काठमाडौं, जेठ ६ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र संयुक्त अरब इमिरेट्स (यूएई) का ऊर्जा तथा दिगोपनसम्बन्धी सहायक परराष्ट्रमन्त्री अब्दुल्ला बलालाबीच मंगलबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल र यूएईबीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना थप बलियो बनेको छ। सगरमाथा संवादमा सहभागी हुन नेपाल भ्रमणमा आएका मन्त्री बलालालाई स्वागत गर्दै मन्त्री खड्काले नेपाल-यूएईबीचको मैत्रीपूर्ण सम्बन्धलाई ऊर्जा क्षेत्रमा रणनीतिक साझेदारीमार्फत नयाँ उचाइमा पुर्‍याउने अवसर आएको उल्लेख गरे।

ऊर्जामन्त्री खड्काले जलविद्युत् क्षेत्रको अपार सम्भावना औँल्याउँदै स्वच्छ ऊर्जा उत्पादनमा यूएईलाई रणनीतिक साझेदारको रूपमा स्वागत गर्न नेपाल इच्छुक रहेको बताए। नेपालले हाल भारत र बङ्गलादेशसँग विद्युत् व्यापार गरिरहेको उल्लेख गर्दै उनले क्षेत्रीय ऊर्जा समन्वय विस्तार गर्न युएईको लगानी अपेक्षित रहेको बताए। उनले जलविद्युत्, नवीकरणीय ऊर्जा प्रणाली तथा प्रसारण पूर्वाधारका परियोजनामा युएईको सहकार्य महत्वपूर्ण हुने धारणा राखे।

युएईका मन्त्री बलालाले नेपालको ऊर्जा क्षेत्रमा यूएईको गहिरो चासो रहेको स्पष्ट पार्दै जलविद्युत्, सौर्य ऊर्जा, ब्याट्री स्टोरेज र प्रसारण लाइनजस्ता क्षेत्रमा लगानी गर्न यूएई इच्छुक रहेको बताए। उनले स्वच्छ ऊर्जा प्रवर्द्धनमा नेपालसँग दीर्घकालीन रणनीतिक साझेदारी गर्न युएई तयार रहेको र नेपालको विकास यात्रामा सकारात्मक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै दीर्घकालीन ऊर्जा सहकार्यको मार्ग प्रशस्त गरेको बताइएको छ।

प्रतिक्रिया