काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा वैदेशिक सहायता प्रतिबद्धता उल्लेखनीय रूपमा वृद्धि भएको छ । साउनदेखि फागुन मसान्तसम्मको अवधिमा नेपालले कुल २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब १ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।
यस अवधिमा प्राप्त कुल प्रतिबद्धता मध्ये २५.७ प्रतिशत अनुदान र ७४.३ प्रतिशत ऋणको रूपमा रहेको मन्त्रालयले जनाएको छ । सहायता प्रतिबद्धताको ठूलो हिस्सा ऊर्जा क्षेत्रमा केन्द्रित भएको छ । ऊर्जा क्षेत्रमा मात्र २५.४ प्रतिशत प्रतिबद्धता आएको छ भने दोस्रो स्थानमा रहेको वातावरण तथा जलवायु क्षेत्रमा २१.७ प्रतिशत सहयोग प्रतिबद्धता देखिएको छ ।
त्यस्तै, सिँचाइ क्षेत्रमा १२.८ प्रतिशत, पानी क्षेत्रमा ११.५ प्रतिशत, विपद् व्यवस्थापनमा ९.१ प्रतिशत, यातायात क्षेत्रमा ६ प्रतिशत, कृषि र सामाजिक क्षेत्रमा समान रूपमा ४.३ प्रतिशत प्रतिबद्धता रहेको छ । सुशासन क्षेत्रमा भने सबैभन्दा कम ०.२ प्रतिशत मात्र प्रतिबद्धता देखिएको छ ।
यस विवरणले वैदेशिक सहयोग ऊर्जा, जलवायु तथा पूर्वाधारका क्षेत्रमा केन्द्रित भइरहेको संकेत गरेको छ । अर्थ मन्त्रालयले सहयोग प्राप्त क्षेत्रहरूको उपयोगिता र प्रभावकारितालाई सुनिश्चित गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ ।