काठमाडौं - पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेडबीच समझदारीमा हस्ताक्ष्नर भएको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापनका पदाधिकारीहरु, एसएमईसीका पदाधिकारीहरु सहित पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाको उपस्थिति रहेको थियो ।
समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्नेछ । निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ ।