विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, २३ प्रतिशतले वृद्धि

नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.१ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तसम्ममा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो। यसअघि २०८१ असार मसान्तमा उक्त सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरको हिसाबले हेर्दा २०८१ असार मसान्तमा सञ्चिति १५ अर्ब २७ करोड डलर रहेकोमा २०८२ वैशाख मसान्तमा यो २०.५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड डलर पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.२ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात तथा १४.६ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ। त्यस्तै, २०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१.१ प्रतिशत, कुल आयातको १२१.४ प्रतिशत र विस्तृत मुद्राप्रदायको ३३.८ प्रतिशत बराबर रहेको छ।

प्रतिक्रिया