राहदानी विभागअघि आत्मदाह गरेका गणेश नेपालीको शव बुझ्न परिवारको अस्वीकार

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको परिवारले घटनाको जिम्मेवारी राज्यले स्पष्ट रूपमा लिनुपर्ने माग गर्दै शव बुझ्न अस्वीकार गरेको छ। सरकारी पक्षसँग सहमति नहुन्जेल शव नउठाउने अडान परिवारले लिएको हो।

मृतकका भतिजा मन नेपालीका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरकारी पक्षसँग छलफल जारी रहे पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा भइरहेको वार्तामा गणेशका आमाबुबासहित परिवारका सदस्य सहभागी छन्।

बिहीबार आगलागीपछि वीर अस्पतालमा भर्ना गरिएका गणेशको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। उनको न्यायको माग गर्दै शनिबार वीर अस्पतालअगाडि प्रदर्शनसमेत गरिएको छ। परिवारले शव नबुझेकाले वीर अस्पतालले शवलाई सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको शवगृहमा पठाएको छ। अस्पतालका अनुसार लामो समयसम्म शव सुरक्षित राख्ने पर्याप्त पूर्वाधार वीर अस्पतालमा उपलब्ध छैन।

परिवारले शव नबुझेसम्म मुचुल्का र पोस्टमार्टम प्रक्रिया अघि बढ्न नसक्ने जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत परिवारसँग सहमति जुटाउने प्रयास गरिरहेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले पनि परिवारसँग निरन्तर संवाद भइरहेको र छिट्टै सहमति हुने विश्वास व्यक्त गरेका छन्।

यसबीच काठमाडौं महानगरपालिकाले मृतकको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गर्ने जनाएको छ। महानगरले यस्ता घटना दोहोरिन नदिन सरकारसँग समन्वय गरी आवश्यक सुधारात्मक उपाय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

घटनाबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार गणेश बिहीबार बिहान राहदानी विभागमा यात्रु पुर्‍याउन पुगेका थिए। यात्रु ओरालेपछि अर्को राइडको प्रतीक्षामा रहेका बेला नगर प्रहरीसँग मोटरसाइकल पार्किङको विषयमा विवाद भएको र त्यसपछि मोटरसाइकलमा ‘ह्विल लक’ लगाइएको देखिएको छ।

प्रहरीका अनुसार दिउँसो करिब १:४५ बजे महानगरको टोलीले ह्विल लक लगाएपछि करिब दुई घण्टापछि गणेशले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनास्थलका सीसीटीभी फुटेज र सार्वजनिक भिडियोमार्फत घटनाका सबै पक्षको अध्ययन भइरहेको प्रहरीले जनाएको छ। घटनापछि नगर प्रहरीका तीन कर्मचारीसँग सोधपुछसमेत गरिएको छ।

गणेश घाइते भएपछि प्रहरीले हिँडाउँदै लगेको भिडियो सार्वजनिक भएपछि त्यसको आलोचना भएको छ। छानबिन समितिले घटनाको सम्पूर्ण विवरण, जिम्मेवारी र कमजोरी पहिचान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने जनाएको छ।

मुगुको सोरु गाउँपालिका–६ स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए। उनका दाइ मदन नेपालीका अनुसार उनले तीन महिनाअघि मात्रै जग्गा धितो राखेर किस्ताबन्दीमा मोटरसाइकल खरिद गरी ‘पठाओ’ सेवा सञ्चालन गरिरहेका थिए।

यसैबीच काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। सिरहाका स्थायी बासिन्दा तथा सुपर वायर एन्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिव्यश्री ट्रेड कन्सर्नका सञ्चालक रहेका राउतले आफ्नै घरको भान्सामा आगो लगाएका थिए। परिवारका अनुसार केही समयअघि गरिएको स्पाइनल कर्डको शल्यक्रियापछि स्वास्थ्य अवस्था अपेक्षाअनुसार सुधार नभएकाले उनी मानसिक तनावमा रहेका थिए। करिब ५० प्रतिशत शरीर जलेका उनको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय