काठमाडौं– गत वर्ष वाणिज्य बैंकहरूले २ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ बराबरको घरजग्गा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूले पाँच वर्षको अवधिमा घरजग्गा कर्जामा उल्लेख्य रूपमा वृद्धि गरेको देखिन्छ । पाँच वर्षघि २०७७ असारसम्ममा बैंकहरूको घररजग्गा कर्जा १ खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ थियो । तर, पाँच वर्षको अवधिमा बैंकहरूको घरजग्गा कर्जा ५९.८४ प्रतिशत बढेको देखिन्छ ।
पछिल्लो वर्ष घरजग्गा क्षेत्रमा मन्दी आएको भनिए पनि राष्ट्र बैंकको तथ्यांकले भने कर्जा प्रवाहमा कुनै असर नपरेको देखिन्छ । तथ्यांकले प्रत्येक वर्ष घरजग्गा कर्जामा बैंकहरूको लगानी बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार बैंकहरूले २०७८ असारसम्ममा १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ, २०७९ असारसम्ममा १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ र २०८० असारसम्ममा २ खर्ब २ अर्ब ६३ करोड रुपैयाँ कर्जा घरजग्गामा लगानी गरेका गरेका थिए ।
नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुब घिमिरे जुनसुकै कर्जाका लागि पनि घरजग्गा धितो राख्नुपर्ने भएकाले वृद्धि भएको हुन सक्ने बताउँछन् । उनका अनुसार घरजग्गा चलायमान भएर भन्दा पनि कर्जा मेन्टेन गर्न अर्काे कर्जा लिएका कारण लगानी बढेको हुन सक्छ । ‘जुनसुकै धितोको रूपमा घरजग्गा राख्छन् । कुनै उद्योगधन्दा वा सवारी साधन नै खरिद गर्नुपर्याे भने घरजग्गा धितो राखिने भएकाले बढेको हुन सक्छ । तर, घरजग्गामै भनेर कम छ, हामीले पुगेको छैन भनिरहेका छौं,’ उनले भने, ‘घरजग्गा चलायमान भएर भन्दा पनि कर्जालाई मेन्टेन गर्न अर्काे कर्जा लिएका कारण बढेको हुनसक्छ, जस्तो ब्याज तिर्न सकिएन भने त्यसलाई अर्काे धितोमा थपेर कर्जा लिएर ब्याज तिरेको देखिन्छ ।’