वर्षायामसँगै विद्युत् निर्यात बढ्यो, दैनिक ६५० मेगावाटसम्म भारत–बंगलादेशमा बिक्री

काठमाडौं । वर्षायामको सुरुवातसँगै नेपाल विद्युत् प्राधिकरणले आन्तरिक खपतपछि बचत भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ। मनसुन सक्रिय भई नदी तथा खोलाहरूमा पानीको बहाव बढेसँगै जलविद्युत् उत्पादन वृद्धि भएको र सोही कारण अतिरिक्त विद्युत् छिमेकी मुलुकमा बिक्री गर्न थालिएको हो।

प्राधिकरणका अनुसार हाल दैनिक औसत ६५० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ। बिहीबार मात्रै ६२० मेगावाट विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिएको थियो। उत्पादन र आन्तरिक मागको अवस्थाअनुसार निर्यातको परिमाण दैनिक रूपमा परिवर्तन हुने गरेको छ।

हाल नेपालले भारत र बंगलादेशमा फरक–फरक मोडालिटीमार्फत विद्युत् बिक्री गरिरहेको छ। बंगलादेशतर्फ निश्चित अवधिका लागि ४० मेगावाट विद्युत् नियमित रूपमा निर्यात भइरहेको छ भने बाँकी अधिकांश विद्युत् भारतीय बजारमा बिक्री भइरहेको छ।

भारतीय बजारमा विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जको डे–अहेड मार्केट, रियल–टाइम मार्केट तथा विभिन्न राज्यहरूसँग भएका द्विपक्षीय र मध्यकालीन सम्झौताहरू प्रयोग गरिरहेको छ। हाल हरियाणा र बिहारका विद्युत् वितरण कम्पनीहरूसँगको सम्झौताअनुसार पनि विद्युत् निर्यात भइरहेको छ।

नेपालको विद्युत् उत्पादन क्षमतामा वृद्धि भएसँगै निर्यातका लागि प्राप्त अन्तर्राष्ट्रिय अनुमति पनि विस्तार हुँदै गएको छ। हाल नेपालसँग भारत र बंगलादेशमा गरी कुल १,२०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने अनुमति रहेको छ। यसमध्ये भारततर्फ विभिन्न आयोजनाबाट उत्पादित १,१२५ मेगावाटभन्दा बढी विद्युत् निर्यातको स्वीकृति प्राप्त भएको छ।

भारतीय बजारमा बिक्री हुने नेपाली विद्युत्को औसत मूल्य प्रतियुनिट ५.२५ देखि ५.४५ भारतीय रुपैयाँसम्म रहेको छ। यसले नेपालको ऊर्जा व्यापारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपालले यस वर्ष पहिलो पटक व्यावसायिक रूपमा बंगलादेशमा पनि विद्युत् निर्यात सुरु गरेको हो। बंगलादेशमा जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिनाका लागि ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। यसका लागि त्रिशूली जलविद्युत् आयोजना र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गरिएको छ।

बंगलादेशलाई नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले विद्युत् बिक्री गरिरहेको छ। नेपाल र बंगलादेशबीच प्रत्यक्ष सीमा नजोडिएकाले भारतीय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति गरिँदै आएको छ। यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सहकार्य आवश्यक हुने गरेको छ।

विद्युत् निर्यातको विस्तारसँगै नेपाल ऊर्जा निर्यातकर्ता राष्ट्रका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको छ। आन्तरिक उत्पादन वृद्धि, क्षेत्रीय ऊर्जा सहकार्य र अन्तरदेशीय प्रसारण पूर्वाधारको विकासले आगामी वर्षहरूमा विद्युत् निर्यातबाट मुलुकले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्ने सम्भावना बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय