स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेका छन्। यस निर्णय अन्तर्गत, बिरामीहरूलाई अब सरकारी अस्पतालहरूमा उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध हुनेछ।
हिमोफिलिया एक वंशाणुगत र जटिल प्रकारको रक्तस्रावको समस्या हो, जसको उपचारमा महँगो औषधी आवश्यक पर्छ। यसका लागि सरकारलाई विभिन्न सरोकारवालाहरूबाट औषधी उपलब्ध गराउने अनुरोध आएका थिए।
मन्त्री पौडेलले भने, “विश्व हिमोफिलिया महासङ्घबाट अनुदान प्राप्त गरी अब सरकारी अस्पतालहरूमा यो औषधी उपलब्ध गराइनेछ।” मन्त्रालयले यस औषधीका लागि आवश्यक व्यवस्था गर्दैछ र राज्यकोषमा भार नपर्नेगरी औषधी उपलब्ध गराउने प्रक्रिया अघि बढाउने योजना बनाएको छ।
नेपालमा करीब ९०० जना हिमोफिलिया रोगी रहेका छन् भने, विश्व स्वास्थ्य संगठनले ५ हजार भन्दा बढी अप्रकट रोगीहरूको अनुमान गरेको छ। २०७८ को जनगणनामा २.२ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूमा ०.८ प्रतिशतको हिमोफिलिया रोग भएको अनुमान गरिएको छ। स्वास्थ्य मन्त्रालयले संघीय, प्रादेशिक र अन्य सरकारी अस्पतालमार्फत औषधी उपलब्ध गराउने तयारी गरेको जनाएको छ।