रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ र पुराना सबै राजनीतिक दलका लागि संरक्षकको भूमिकामा रहने बताएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि रुकुमकोटमा आयोजित मतदाता धन्यवाद र्यालीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
दाहालले वरिष्ठ नेतामध्ये जनताले आफूलाई मात्रै विजयी बनाएर संसदमा पठाएको भन्दै अब सबै दलको संरक्षण र मार्गदर्शन गर्ने जिम्मेवारी आफूमा आएको बताए। उनले विगतमा संसदमा पटक–पटक एमाले र कांग्रेसलाई दुईतिहाइको अहंकार नगर्न चेतावनी दिएको स्मरण गर्दै भ्रष्टाचारविरुद्ध र विकास–समृद्धिको पक्षमा लड्दा संख्यात्मक अहंकारका कारण आफूलाई बाहिर पारिएको दाबी गरे।
नयाँ दलहरूको विजयलाई बधाई दिँदै उनले त्यही प्रकारको अहंकार नयाँ शक्तिहरूले पनि दोहोर्याए देशका लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिए। आफ्नो राजनीतिक अनुभवको आधारमा नयाँ दलका नेताहरूका लागि आफू मार्गदर्शक हुन सक्ने उल्लेख गर्दै उनले २०६४ सालमै अहिले देखिएको जस्तै जनलहर आफूले देखिसकेको बताए।