काठमाडौँ — बहुप्रतीक्षित नागढुङ्गा सुरूङमार्ग आगामी पुस महिनापछि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। हालसम्म ९० प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको र बाँकी १० प्रतिशत उपकरण जडान तथा परीक्षणको काम भइरहेको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार, निर्धारित समयसीमाअनुसार आगामी कात्तिकको पहिलो सातासम्म निर्माण कार्य सकाएर सुरूङमार्ग सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ। “अहिले परीक्षण र संयोजनको काम चलिरहेको छ। सञ्चालक निकाय छनोट प्रक्रिया अघि बढिसकेको छ। छनोटपछि त्यस निकायलाई आवश्यक तालिम दिन पनि करिब दुई महिना लाग्न सक्छ,” इञ्जिनियर कोइरालाले भने।
सुरक्षा र सेवा सुविधामा कुनै सम्झौता नगर्ने योजनाअनुसार सुरूङमार्गभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र तथा लगातार अक्सिजन प्रवाहजस्ता अत्यावश्यक उपकरण जडान कार्य भइरहेको उनले बताए।
सुरूङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ र पश्चिम क्षेत्रको यातायातमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको छ।