ग्वार्को ओभरपासको सबै काम बर्खाअघि नै सकिने

काठमाडौं — ग्वार्को ओभरपास निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि कार्य सम्पन्न हुने टुंगो छैन। निर्माणका क्रममा बारम्बार ढिलाइ हुँदा कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी सडक खण्डमा दैनिक जामको समस्या यथावत् छ।

निर्माण व्यवसायीले वैशाखभित्र काम सक्ने दाबी गरेका छन् भने सडक विभागले बर्खाअघि सम्पूर्ण कार्य सम्पन्न हुने बताएको छ। तर, निर्माणको अन्तिम चरणमा पुगेका कतिपय संरचना पुनः भत्काएर बनाउन थालिएपछि यात्रु र चालकहरू भने आश्वस्त देखिएका छैनन्।

हाल सातदोबाटोतर्फ राखिएको रेनफोर्स्ड अर्थ (आरई) वालको ४० मिटर क्षेत्रको प्यानल झिकेर पुनः जडान गरिँदै छ। गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीका अनुसार बीचमा ग्याप देखिएपछि सम्पूर्ण भाग हटाएर पुनः निर्माण गर्नुपरेको हो। आरई वाल पुनः जडानको कार्य एक महिनाभित्र सम्पन्न गर्ने योजना छ।

ओभरपासमा पर्ने पुल निर्माण कार्य भने पूरा भइसकेको छ। अब आरई वालको काम सकिएपछि बेस, सबबेस र कालोपत्र गर्ने तयारी छ। साथै, आरई वाल र पुल जोड्ने ‘एप्रोच स्ल्याब’ राख्ने काम पनि बाँकी रहेको छ।

२०७८ फागुनमा दुई वर्षभित्र सक्ने गरी सुरु गरिएको ओभरपास निर्माण पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। सुरुमा २०८० फागुन १२ भित्र सक्नुपर्ने लक्ष्य थियो, तर त्यसपछि २०८१ असारसम्म म्याद थपियो। पुनः तोकिएको समय गुज्रिएपछि पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना लगाएर काम अघि बढाइएको छ।

५४० मिटर लामो ओभरपासको निर्माण प्रगति हालसम्म ८२ प्रतिशत मात्र पुगेको छ। इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको यस संरचनामा प्रारम्भिक डिजाइनमै समस्या देखिएपछि काम रोकिएको थियो। निर्माणका क्रममा आएका विभिन्न प्राविधिक समस्याहरूका कारण बारम्बार ढिलाइ भएको अधिकारीहरूले बताएका छन्।

पूर्वसचिव अर्जुनजंग थापाले केही दिनअघि सामाजिक सञ्जालमार्फत नेपाली व्यवसायी र इन्जिनियरहरू पहिलो पटक यस्ता संरचना निर्माण गरिरहेका हुँदा गल्ती गर्दै सिक्नुपरेको टिप्पणी गरेका थिए। उनले सकेसम्म चाँडो काम सम्पन्न गरी यात्रुहरूको सास्ती कम गर्नुपर्ने सुझाव दिएका छन्। Kantipurdaily

प्रतिक्रिया