बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोपपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजेतिर सादा पोसाक र हतियारसहित करिब ७५ जनाको एसएसबी टोली सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा प्रवेश गरेको थियो। उनीहरूले त्यहाँ निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएको स्थानीयको दाबी छ।
भारतीय सुरक्षाकर्मीले बाँध भत्काएपछि स्थानीयवासीले विरोध जनाएका थिए। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार दुई देशको सीमा मानिएको सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर एसएसबीले बाँध भत्काएको हो।
उनले स्थानीयले रोक्ने प्रयास गरे पनि सुरक्षाकर्मी हतियारसहित आएकाले रोक्न नसकिएको बताए। घटनाका क्रममा केहीबेर विवादसमेत भएको उनको भनाइ छ।
यसअघि पनि गत असार महिनामा भारतीय पक्षले सुस्ता क्षेत्रमा पुगेर बाँध निर्माण रोक्न दबाब दिएको भन्दै काम प्रभावित भएको स्थानीयले बताएका छन्।
सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा परिचित छ। स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक–पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने हस्तक्षेपका कारण यस क्षेत्रमा समय–समयमा विवाद दोहोरिने गरेको छ।
घटनापछि कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन नेपाल सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको छ। सम्बन्धित निकायबाट घटनाबारे थप जानकारी आउने क्रम जारी रहेको छ।