काठमाडौं । औद्योगिक क्षेत्रका उद्योगीहरूले हालसम्म ३२ करोड ५० लाख रुपैयाँभन्दा बढी बक्यौता भाडा भुक्तानी गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जेठ २५ गते सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र बक्यौता तिर्न उद्योगीलाई निर्देशन दिएपछि भुक्तानी प्रक्रिया तीव्र बनेको हो।
व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार बढाइएको भाडादरअनुसार करिब ८५ करोड रुपैयाँ बक्यौता रहेको थियो। उद्योगीहरूले भाडा भुक्तानी गर्न अटेर गरेपछि व्यवस्थापनले विद्युत् आपूर्ति काट्न थालेको र त्यसपछि उद्योगहरूले बक्यौता तिर्न थालेका हुन्।
उद्योगीहरूले भाडादरसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै बढेको भाडा नतिरे पनि पुरानो दरको भाडा तथा अन्य महसुल भने नियमित रूपमा तिर्दै आएका थिए। व्यवस्थापनले विद्युत् लाइन काट्न थालेपछि बक्यौता रकम भुक्तानी गर्ने उद्योगहरूको लाइन पुनः जोड्ने काम भइरहेको सोडारीले बताए।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ सालमा औद्योगिक क्षेत्रभित्रको भाडादर ७०० प्रतिशतसम्म वृद्धि गरेको थियो। उक्त निर्णयविरुद्ध उद्योगीहरूले विरोध जनाएपछि भाडादर लागू हुने मितिबारे विवाद उत्पन्न भएको थियो। विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो।
सर्वोच्च अदालतले असार २०७९ सम्म पुरानै भाडादर कायम रहने र त्यसपछि मात्र नयाँ भाडादर लागू हुने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले हालै पुरानै आदेशलाई निरन्तरता दिने निर्णय गरेपछि लामो समयदेखिको विवाद अन्त्य भएको छ।
सोडारीका अनुसार अब असार २०७९ सम्म पुरानो दर र त्यसपछिको अवधिका लागि नयाँ भाडादरअनुसार बक्यौता असुल गरिनेछ। यसरी २०७९ सालपछि लागू भएको बढेको भाडादरअनुसार करिब ४५ करोड रुपैयाँ उठाउन बाँकी रहेको उनले बताए।
यता, बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्ने अभियान जारी छ। औद्योगिक क्षेत्र उद्योग महासंघका अनुसार हालसम्म १८० उद्योगको विद्युत् लाइन काटिएको छ। तीमध्ये करिब ८० उद्योगमा अझै विद्युत् आपूर्ति पुनः सञ्चालन हुन सकेको छैन।
महासंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रनाथ भट्टराईले उद्योगहरूले बक्यौता भुक्तानी सुरु गरिसकेको र केही उद्योगलाई समय दिनुपर्ने अवस्था रहेको बताए। यद्यपि, व्यवस्थापनले बक्यौता तिर्ने उद्योगहरूको विद्युत् लाइन पुनः जोडिएको र बाँकी उद्योगले बक्यौता भुक्तानी गरेपछि मात्र सेवा सुचारु हुने स्पष्ट पारेको छ।