६ महिनामै साढे १० खर्ब नाघ्यो रेमिट्यान्स, आप्रवाहमा तीव्र वृद्धि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालले साढे १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको छ। नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धिदर केवल ४.२ प्रतिशत रहेको थियो।

विशेषगरी २०८२ सालको पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ मात्र रेमिट्यान्स आएको थियो। यसले पछिल्लो समय वैदेशिक आम्दानीमा उल्लेखनीय सुधार देखिएको संकेत गर्दछ।

डलरमा गणना गर्दा पुस मसान्तसम्म नेपाल भित्रिएको रेमिट्यान्स ७ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.३ प्रतिशतले बढी हो। समीक्षा अवधिमा खुद ट्रान्सफर आय पनि बढेर ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ थियो।

यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेखनीय रहेको छ। पहिलो छ महिनामा संस्थागत तथा व्यक्तिगत गरी नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ६ हजार ८०७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय