अविरल वर्षाबाट देशभर ४४ जनाको मृत्यु, ६ हजार विस्थापित

काठमाडौं । पछिल्ला दुई दिनदेखि देशभर परिरहेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी ४४ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोका कारण करिब ६ हजार जना विस्थापित भएका छन् भने पाँच जना अझै हराइरहेका छन्।

 

सबैभन्दा ठूलो क्षति इलाममा भएको छ, जहाँ पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ। पहिरोले घर बगाउँदा र पुरिँदा दर्जनौं घाइते भएका छन्। मृत्यु हुने मध्ये धेरैजसो दसैं मनाउन गाउँ फर्किएका पाहुना रहेको इलाम प्रहरीले जनाएको छ।

 

प्राधिकरणका अनुसार देशका ३४ जिल्लामा बाढीपहिरोको असर परेको छ। ती जिल्लामा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब तीन हजार सुरक्षाकर्मी परिचालन भएका छन्।

 

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाका चारवटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् भने झापामा एउटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले उद्धारका लागि आवश्यक सामग्रीसहित टोली फिल्डमा रहेको जानकारी दिए। नेपाल प्रहरीले पनि आफ्ना सबै जिल्लाका टोली उद्धारमा खटाएको जनाएको छ।

 

इलाममा पहिरोका कारण दर्जनौं घरहरू भत्किएका छन् र धेरै परिवार बेघर बनेका छन्। देउमाई, माङ्सेबुङ, सन्दकपुर, फाकफोकथुम लगायतका ठाउँमा ठूलो जनधनको क्षति भएको छ। उद्धारमा कठिनाइ भए पनि सेनाले गर्भवती र गम्भीर घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धार गरेको इलामस्थित रणशार्दुल गणका गणपति प्रह्लाद घलेले बताए।

 

जिल्ला प्रशासन कार्यालयका अनुसार फिक्कल र इलाम अस्पतालमा ११ वटा शव पोस्टमार्टमका लागि लगिएको छ। लगातार वर्षाका कारण सडक अवरुद्ध हुँदा उद्धारमा ढिलाइ भएको प्रहरीले जनाएको छ। सेनाले पीडितहरूलाई खाद्यान्नसहित राहत वितरण पनि सुरु गरेको छ।

 

उदयपुरमा पनि वर्षाका कारण दुई जनाको मृत्यु भएको छ भने चौदण्डीगढी नगरपालिका बसाहास्थित सुन्दरी खोलाले कार बगाएको छ। कारका सबै यात्रु भने सकुशल रहेका छन्।

 

रसुवामा लाङटाङतर्फ ट्रेकिङमा गएका भक्तपुरका चार जना बेरिङ खोल्साले बगाएर बेपत्ता भएका छन्। बेपत्ता हुनेमध्ये तीन जना एउटै परिवारका रहेको पाइएको छ। उनीहरूको खोजी कार्य प्रहरी र स्थानीयको सहयोगमा जारी छ।

 

सप्तकोसी नदीमा पानीको सतह घटेपछि आइतबार अपराह्नदेखि कोसी पुल पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए।

 

तर तराईका ठूला भागमा भने बाढीको प्रभाव गम्भीर बनेको छ। रौतहटमा बागमती, लालबकैया र झाँझ नदीको बाढीले ठूलो क्षति पुर्‍याएको छ। दुर्गा भगवती गाउँपालिकाका २५ प्रतिशत घरमा बाढी पसेको छ भने झाँझ नदीको बाढीले गौर–गंगापिपरा सडक अवरुद्ध भएको छ।

 

पर्साको वीरगन्ज सहर पनि सिर्सिया र तिलावे नदीमा आएको बाढीका कारण जलमग्न भएको छ। महानगरका पाँच वडामा बाढी पस्दा सयौं घरमा पानी प्रवेश गरेको मेयर राजेशमान सिंहले जानकारी दिए।

 

सर्लाहीमा लखनदेही खोलाको बाढीले दुई दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीले हुलाकी सडकको दुई किलोमिटर भाग बगाएको प्रहरीले जनाएको छ। महोत्तरीमा रातु नदीले बाँध कटान गरेपछि सदरमुकाम जलेश्वर डुबानको जोखिममा परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए।

 

देशभरका सुरक्षाकर्मी उद्धार, राहत र सहयोगका कार्यमा जुटिरहेका छन्। प्राधिकरणका अनुसार स्थिति क्रमशः सुधारतर्फ भए पनि अझै धेरै स्थानमा उद्धार र पुनःस्थापनाको काम बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय