पूर्व अर्थमन्त्रीहरूको सुझाव : बजेट यथार्थपरक र कार्यान्वयन योग्य होस्

काठमाडौं — पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट व्यावहारिक, कार्यान्वयन योग्य र यथार्थपरक बनाउने सुझाव दिएका छन्। अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्श कार्यक्रममा सहभागी पूर्व मन्त्रीहरूले लोकप्रिय नाराभन्दा टाढा रही, उत्पादन, रोजगारी र पूर्वाधार निर्माणमा केन्द्रीत बजेट ल्याउनुपर्नेमा जोड दिए।

उनीहरूले बजेटमार्फत धेरै आयोजना प्रस्ताव गर्नुको सट्टा, केही ठूला र प्रतिफल दिने परियोजनाहरूमा प्राथमिकता दिनुपर्ने बताए। साथै, स्वास्थ्य, शिक्षा र आयआर्जनलाई समेत बजेटमा विशेष स्थान दिनुपर्ने धारणा व्यक्त गरे।

पूर्व प्रधानमन्त्री एवं अर्थमन्त्री डा. बाबुराम भट्टराईले बजेट नीति स्पष्ट र वैचारिक हुनुका साथै कार्यान्वयन गर्न सकिने हुनुपर्ने बताए। उनले साधन स्रोतको सीमितता रहेको अवस्थामा राज्य एक्लैले सबै काम गर्न खोज्दा समस्या आउने भएकाले सार्वजनिक, निजी, सहकारी र समुदायको भूमिकालाई स्पष्ट गर्नुपर्ने धारणा राखे।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजनाको वर्गीकरणको मापदण्ड पालना गर्दै, सीमित तर कार्यान्वयन योग्य आयोजना अघि बढाउनुपर्ने सुझाव दिए। साथै, वित्त र मौद्रिक नीतिबीच सन्तुलन आवश्यक रहेको बताए।

पूर्व अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ चरणबद्ध रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले सूचना प्रविधि र प्रादेशिक सन्तुलनमा ध्यान दिइ बजेट बनाउनु पर्ने धारणा राखे।

त्यस्तै, पूर्व अर्थमन्त्री जनार्दन शर्माले आयातमा आधारित राजस्व संरचना आन्तरिक उत्पादनमा आधारित हुनुपर्ने बताए।

प्रतिक्रिया