बीमा क्षेत्रमा १० महिनामै डेढ खर्बभन्दा बढीको कारोबार

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको बीमा क्षेत्रले उल्लेखनीय विस्तार गर्दै स्थिर आर्थिक अवस्था बीच पनि सकारात्मक वृद्धि देखाएको छ। डिजिटल प्रविधिको प्रयोग, नयाँ बीमा उत्पादनको विकास र जनचेतनामूलक पहलले गर्दा उपभोक्ताको आकर्षण उच्च बनेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणका तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म बीमा कम्पनीहरूले कुल १ खर्ब ७६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.०३ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा बीमा शुल्क संकलन १ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ थियो।

जीवन बीमा क्षेत्रको वृद्धिदर अझ उल्लेख्य छ। १० महिनामा मात्र जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १५.५५ प्रतिशतको वृद्धि हो। यस अवधिमा नयाँ व्यवसायबाट आर्जन गरिएको प्रथम बीमा शुल्क २८.९८ प्रतिशतले बढेर ३० अर्ब ९० करोड रुपैयाँ नाघेको छ।

नविकरणमार्फत संकलित बीमा शुल्क पनि उल्लेख्य रुपमा बढेको छ। चालु आवमा यसको आकार १२.६९ प्रतिशतले बढ्दै १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।

बीमालेखको संख्यामा पनि सामान्य वृद्धि देखिएको छ। हाल ५६ लाख ४७ हजारभन्दा बढी नयाँ बीमालेख जारी भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले मात्रै बढी हो। हाल देशभर १ करोड ५३ लाख सक्रिय जीवन बीमालेख रहेका छन्, जुन गत वर्षको तुलनामा ९.६८ प्रतिशत वृद्धि हो।

निर्जीवन बीमा व्यवसाय पनि ८.४६ प्रतिशतले बढेको छ। यस क्षेत्रमा ३५ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरिएको छ। बीमालेख बिक्रीको संख्या २६ लाख ६६ हजार नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.५९ प्रतिशतले वृद्धि हो।

हाल देशको कुल जनसंख्याको ४३.३९ प्रतिशत मानिसमा बीमा सेवा पुगेको छ। अघिल्लो वर्षको तुलनामा थोरै कमी देखिए पनि बीमा पहुँच विस्तारको क्रम भने निरन्तर जारी छ।

बीमा क्षेत्रमा हाल १२ हजारभन्दा बढी कर्मचारी संलग्न छन्। तीमध्ये ६ हजारभन्दा बढी जीवन बीमामा र बाँकी निर्जीवन बीमातर्फ कार्यरत छन्। देशभर कम्पनीहरूका २ हजार ९९८ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय