नयाँ दिल्ली । भारतको अहमदाबादमा गत महिना भएको भीषण विमान दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी)ले सार्वजनिक गरेको सो रिपोर्टमा दुर्घटनाको सम्भावित कारणबारे महत्वपूर्ण विवरणहरू उल्लेख गरिएका छन्। रिपोर्ट अनुसार टेकअफ भएको केही सेकेन्डमै विमानका दुवै इन्जिनका फ्युएल कन्ट्रोल स्विच ‘कट-अफ’ पोजिसनमा गएको देखिएको छ, जसले इन्जिन बन्द भएर विमान दुर्घटनामा परेको आशंका गरिएको छ।
रिपोर्टमा ककपिट भ्वाइस रेकर्डिङको उल्लेख गर्दै एक पाइलटले अर्कोलाई "कट-अफ किन गर्यौ?" भनेर सोधेको र जवाफमा अर्कोले "मैले होइन" भनेको सुनिएको छ। तर ती आवाज कुन पाइलटका हुन् भन्ने स्पष्ट हुन सकेको छैन। दुर्घटनाको समयमा विमान को–पाइलटको नियन्त्रणमा रहेको र क्याप्टेन निरीक्षणको भूमिकामा रहेको जानकारी पनि रिपोर्टमा समेटिएको छ। यस दुर्घटनामा विमान र जमिनमा रहेका गरी कुल २६० जनाको ज्यान गएको थियो, भने बेलायती नागरिक विश्वास कुमार रमेश मात्र जिवित बच्न सफल भएका थिए।
१५ पृष्ठ लामो प्रारम्भिक प्रतिवेदनमा टेकअफ भएको एक मिनेटभित्रै विमानले इन्जिन गुमाएको र पुनः नियन्त्रणमा ल्याउने प्रयास असफल भएको उल्लेख छ। इन्जिन बन्द भएपछि आपतकालीन अवस्थाका लागि प्रयोग हुने र्याम एयर टर्बाइन (RAT) स्वतः सक्रिय भएको थियो। टेकअफसँगै RAT सक्रिय भएको दृश्य सीसीटीभी फुटेजमा पनि देखिएको छ। पाइलटले दुर्घटनाको केही क्षणअघि 'मे डे' को आपतकालीन सन्देश पठाएका थिए, तर त्यसपछि कुनै प्रतिक्रिया नआएको र केही समयमै विमान जमिनमा खसेको रिपोर्टमा उल्लेख छ।
दुर्घटनापछि बोइङ ७८७ ड्रीमलाइनर विमान र यसमा प्रयोग हुने GE GEnx–1B इन्जिनबारे गम्भीर प्रश्न उठिरहेका छन्। यद्यपि, प्रारम्भिक रिपोर्टमा विमानको इन्धनमा समस्या नभएको र हालसम्म कुनै प्राविधिक चेतावनी (advisory) जारी नगरिएको जनाइएको छ। इन्धन नमूनाको परीक्षण सन्तोषजनक देखिएको र केही स्याम्पलको परीक्षण अझै बाँकी रहेको बताइएको छ।
फ्लाइट उडान गर्नुअघि पाइलट र अन्य क्रू सदस्यहरूको स्वास्थ्य परीक्षण गरिएको र उनीहरू ‘फ्लाइटको लागि फिट’ रहेको रिपोर्टमा पुष्टि गरिएको छ। पाइलटहरूलाई पर्याप्त आराम पनि दिइएको थियो। एयर इन्डियाले रिपोर्टप्रति प्रतिक्रिया दिँदै दुर्घटनामा प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ र सबै अनुसन्धान निकायहरूसँग पूर्ण सहयोग गरिरहेको बताएको छ।
यद्यपि प्रारम्भिक प्रतिवेदनले के स्पष्ट संकेत गर्छ भने इन्जिन अचानक बन्द हुनुमा प्राविधिक गडबडीको संकेत कम र मानवीय त्रुटिको सम्भावना बढी रहेको छ। तर रिपोर्ट प्रारम्भिक चरणमा रहेकोले अन्तिम निष्कर्षमा पुग्न अझ समय लाग्ने देखिन्छ। त्यसैले दुर्घटनाको वास्तविक कारणबारे यकिन गर्न थप अनुसन्धानको प्रतीक्षा गर्नुपर्नेछ। BBC Hindi