काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा दुर्घटनामा परेको हो। बिजुलीको पोलबाट लत्रिएको तारमा जिप अल्झिएपछि गाडीमा आगो लागेको थियो।
घटनास्थलमा ४ जनाको ज्यान गएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी भीमबहादुर दाहालले जानकारी दिए। घाइतेहरूको उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए।
एसएसपी दाहालका अनुसार मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ।