सोमबारदेखि सार्वजनिक यातायात नचलाउने व्यवसायीको घाेषणा

काठमाडौँ — सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक यातायातका सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार, सरकारले समस्या समाधानका लागि कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिनुपर्ने बाध्यता आएको हो।

उनीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली खारेज गर्न माग गरेका छन्, जसअनुसार निजी प्रयोजनका लागि किनेका सवारी साधनहरूलाई ‘राइड सेयरिङ’मार्फत भाडाका सवारीसरह प्रयोग गर्न दिने व्यवस्था गरिएको छ। व्यवसायीहरूले यस नियमावलीलाई सार्वजनिक यातायातप्रति अन्यायपूर्ण भन्दै खारेज गर्न माग गर्दै आएका छन्।

सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराएर पनि समाधान नभएपछि आन्दोलनको बाटो रोजिएको राईले बताए। उनका अनुसार सोमबारदेखि सबै सवारी साधनहरू घर वा ग्यारेजमै राखिनेछ।

आइतबार जारी गरिएको संघर्ष समितिको विज्ञप्तिमा आन्दोलनका कारण पर्ने प्रभावको जिम्मेवारी नेपाल सरकार आफैँले लिनुपर्ने उल्लेख गरिएको छ। साथै, आम यात्रु, मजदुर र कर्मचारीहरूलाई आन्दोलनमा आ–आफ्नो तरिकाले सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया