काठमाडौं–पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले राजीनामा गर्नुपर्ने कारणबारे रोचक रहस्य खोलेका छन्। नेपाल बार एसोसिएसनको सल्लाहकार समितिको बैठकमा श्रेष्ठले हजार रुपैयाँका एक क्विन्टल नोट घूस खाएर पनि राणाले मुद्दा हराइदिएको रहस्य खोलेका हुन्।
बैठकका एक सहभागीले दिएको जानकारीअनुसार, श्रेष्ठले प्रधानन्यायाधीश कतिसम्म अनैतिक छन् भन्ने उदाहरण दिएका थिए। राणाले ‘एउटा ठूलो पार्टीसँगको डिलिङ’ गरेको र फैसला गर्दा धोका दिएको उनले बताए। ‘एउटा ठूलो मुद्दा थियो। त्यसबापत प्रधानन्यायाधीशलाई करोडौँ घूस खुवाउने कुरा भएछ। ‘डिलिङ’ मा कुरा मिल्यो। त्यसपछि करोडौँ रुपैयाँ कसरी गन्ने भन्ने प्रश्न आयो’, श्रेष्ठले भने, ‘तौलिएर दिने कुरा भयो। एक करोडमा १७ किलो भयो। उक्त फैसला प्रभावित गर्न एक क्विन्टल हजारका नोट दिने कुरा भयो। उनले एक करोड रकम बुझे तर मुद्दा हराइदिए।’
मुद्दा हराइदिएपछि सो पार्टीले आफूले दिएको रकम फिर्ता माग्यो तर उनले दिएनन्। ‘उसले त अर्को मुद्दा बाँकी छ, त्यसमा मिलाउँला पो भन्छ बा’, श्रेष्ठले भने, ‘घूस खाने मान्छेको पनि एउटा नैतिकता हुन्छ नि !’ श्रेष्ठले बोलिरहँदा वरिष्ठ अधिवक्ता शम्भु थापाले बीचैमा बोलेर सोधेका थिए, ‘होइन, घुस्याहाको नैतिकता चाहिँ कसले तोक्दो रहेछ नि ?’
त्यसपछि श्रेष्ठले भनेका थिए, ‘होइन, घुस्याहा, अपराधीको पनि एउटा नैतिकता हुन्छ। हारेपछि पैसा त फिर्ता गर्नुपर्छ।’ श्रेष्ठले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका बारेमा पनि लामो कहानी सुनाउँदै उनी स्वच्छ आचरणको न्यायाधीश नभएको आफ्नो भोगाइ सुनाएका थिए। बैठकमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता रमेश बडालले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्नेमा आफू पनि सहमत रहेको बताउँदै उनी एक्लैले राजीनामा दिनु पर्याप्त नरहेको बताए।
‘प्रतिनिधिसभा पुनस्र्थापना गर्ने पाँचै जना न्यायाधीश समान रुपमा दोषी छन्, मन्त्रिमण्डलमा हिस्सेदारी खोज्न। त्यसैले पाँच जनाले नै राजीनामा गर्नुपर्छ’, बडालले भनेका थिए, ‘त्यसपछि घूस खाने पाँच जना न्यायाधीशमात्र होइन, उनीहरुलाई घूस दिने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पाँचै जना कानूनको दायरामा ल्याइनुपर्छ।’ source breaklinks.com