शेयर धितो कर्जामा २० प्रतिशत वृद्धि

काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा लगानी करीब २० प्रतिशतले वृद्धि गरेका छन्।

नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीति र सकारात्मक शेयर बजार परिसूचकले गर्दा बैंकहरूले यस क्षेत्रमा कर्जा प्रवाह बढाएका हुन्। राष्ट्र बैंकका अनुसार साउनसम्म शेयर धितोमा ९१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.६६ प्रतिशतले बढी हो।

बैंकहरूको मात्र शेयर धितो कर्जा पनि करीब २२ प्रतिशतले बढेको छ। गत आवको साउनमा वाणिज्य बैंकहरूको कर्जा ५८ अर्ब ९० करोड थियो भने यो वर्ष बढेर ७१ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।

तीन वर्षअघि बैंकहरूको कर्जा अनुत्पादक क्षेत्रमा भएको भन्दै राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा तोकेको थियो। यद्यपि, हाल संस्थागत लगानीकर्ताहरूका लागि कर्जाको सीमा हटाइएको छ।

शेयर लगानीकर्ता छोटेलाल रौनियारले बैंकहरूमा तरलता बढी र ब्याजदर कम भएका कारण शेयर धितो कर्जामा लगानी वृद्धि भइरहेको बताएका छन्। शेयर बजार परिसूचक नेप्से गत असारमा ३ हजार अंक पुगेको भए पनि भदौमा ओरालो लागेको छ। अर्थमन्त्री विष्णु पौडेलले हालै नेप्सेमा गएर बजार घट्दै गइरहेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् र पूँजीबजार सुधारका थप कदम चाल्न निर्देशन दिएका छन्।

 

प्रतिक्रिया