काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन ६ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले आजदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसका आधारमा आयोगले गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको हो । आयोगले निषेधित गतिविधि हुन नदिन अनुगमन संयन्त्र सक्रिय पार्न र उल्लंघन भए तत्काल कानुनअनुसार कारबाही गरी जानकारी गराउन भनेको छ ।
आयोगले मतदानको दिन सवारी सञ्चालनमा पनि विशेष व्यवस्था गरेको छ । एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी निर्वाध सञ्चालन हुनेछन् । कूटनीतिक नियोगका सवारीसाधन र पास प्राप्त सवारीलाई समेत छुट दिइनेछ । तर सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म बन्द रहने आयोगले जनाएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन् ।
मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ । त्यस्तै राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात देखाएर पनि मतदान गर्न सकिने आयोगले स्पष्ट पारेको छ । मतदानका दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी सम्मिलित छुट्टै एकाइ स्थापना गरिने जनाइएको छ ।