काठमाडौं । नेपाली सांगीतिक क्षेत्र व्यावसायिक रूपमा अपेक्षाअनुसार सफल हुन नसके पनि सर्जक र कलाकारहरूले निरन्तर नयाँ सिर्जनामार्फत गीत–संगीतलाई जीवन्त बनाइरहेका छन्। यही क्रममा सर्जक प्रितम श्रेष्ठको शब्द तथा संगीत रहेको नयाँ गीत ‘तिम्ले डाहा गर्यौ कि?’ सार्वजनिक भएको छ।
माया–प्रेमको भावनालाई केन्द्रमा राखेर तयार गरिएको गीतमा मिठासपूर्ण शब्द र आकर्षक लयले विशेष स्थान पाएको छ। गीतले नारि नारिमा हुने रिस,ईर्ष्यालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
यसअघि प्रितम श्रेष्ठका ‘फूलमाया प्रियतम’, ‘माकुरिको जाल’, ‘मुटु रेटियो’, ‘माया गाँसेपछि’, ‘क्यालिफोर्निया’ र ‘नियतिको खेल’ लगायतका गीतले पनि दर्शक तथा स्रोतामाझ राम्रो चर्चा बटुलेका थिए। नयाँ गीतबाट पनि उनले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएका छन्।
‘तिम्ले डाहा गर्यौ कि?’ गीतमा याम थापा मगरको संगीत संयोजन रहेको छ भने गायिका दीपिका ब्याम्बो मगरले सुमधुर स्वर दिएकी छन्। भिडियोमा सरिता धनकुटी र कविता न्यौपानेको अभिनय देख्न सकिन्छ।
गीतको भिडियोको निर्देशन कुशल निर्देशक प्रविण थापाले गरेका छन्। आकर्षक दृश्य संयोजन, अभिनय र निर्देशनका कारण गीतले सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्ममा दर्शक–स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। संगीत, शब्द, स्वर र दृश्य प्रस्तुतिको सन्तुलित संयोजनले ‘तिम्ले डाहा गर्यौ कि?’ लाई समकालीन नेपाली गीत–संगीतको उत्कृष्ट प्रस्तुतिमध्ये एक बनाउने अपेक्षा गरिएको छ।