कोशीको मुख्यमन्त्री फेर्ने ओलीको निर्देशन, कार्कीले छाडेनन् अडान

विराटनगर । नेकपा एमालेभित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा सहमति जुट्न नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका पदाधिकारीबीच पुनः छलफल हुने भएको छ।

एमाले कोशी प्रदेशका अनुसार मुख्यमन्त्री परिवर्तनको विषयमा आज दिउँसो पुनः छलफलको तयारी गरिएको छ। यद्यपि छलफलको निश्चित समय भने तय भइसकेको छैन।

यसअघि सोमबार पार्टी अध्यक्ष ओलीले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग मुख्यमन्त्री परिवर्तनका विषयमा छलफल गरेका थिए। प्रदेश पदाधिकारीसँगको भेटपछि मुख्यमन्त्री कार्कीले पनि अध्यक्ष ओलीसँग छुट्टै भेट गरेका थिए।

ओलीसँगको भेटपछि पनि मुख्यमन्त्री कार्कीले तत्काल राजीनामा दिने विषयमा सहमति नजनाएपछि आज पुनः छलफल गर्न लागिएको हो। एमालेका एक प्रदेश पदाधिकारीका अनुसार अध्यक्ष ओलीले बोलाएपछि छलफलमा जाने तयारी छ। मुख्यमन्त्री परिवर्तनको विषयलाई आजै टुंगो लगाउने तयारी रहेको ती पदाधिकारीले बताए।

सोमबारको भेटमा अध्यक्ष ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पार्टीको लाइन रहेको स्पष्ट पारेका थिए। ओलीले वर्तमान परिस्थितिमा कार्कीभन्दा मेन्याङ्बो उपयुक्त पात्र भएको भन्दै प्रदेश अध्यक्ष र सचिवलाई सोहीअनुसार अघि बढ्न निर्देशन दिएको बताइएको छ।

प्रदेश अध्यक्ष र सचिवसँगको छलफलपछि ओली र मुख्यमन्त्री कार्कीबीच छुट्टै ‘वान टु वान’ कुराकानी भएको थियो। उक्त भेटमा मुख्यमन्त्री कार्कीले अहिलेको अवस्थामा मुख्यमन्त्री परिवर्तन गर्दा राम्रो राजनीतिक सन्देश नजाने धारणा राखेका थिए।

यसअघि एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्षको निर्देशन भन्दै मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गरेका थिए। तर, राईले राजीनामा मागेपछि कार्कीले मुख्यमन्त्री परिवर्तनजस्तो विषयमा संस्थागत निर्णय आवश्यक रहेको भन्दै आफूले राजीनामा नदिने अडान लिँदै आएका छन्।

मुख्यमन्त्री कार्कीले राजीनामा नदिएपछि इन्चार्ज राईले उनलाई मुख्यमन्त्रीबाट हटाउने विषयमा प्रदेश सांसदहरूसँग विराटनगरमा छलफल गरिरहेका छन्।

कार्की संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेकाले उनले राजीनामा नदिएसम्म नयाँ मुख्यमन्त्री नियुक्तिको बाटो सहज छैन। यही कारण अध्यक्ष ओलीको निर्देशन कार्यान्वयन गर्न एमालेभित्रै समस्या देखिएको हो।

यसअघि कार्कीलाई प्रदेश संसदीय दलको नेताबाट हटाउने तयारीसमेत गरिएको थियो। तर, संसदीय दलको नेताबाट हटाउँदैमा मुख्यमन्त्री पद स्वतः जाने अवस्था नरहेपछि मुख्यमन्त्री परिवर्तनको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा एमालेभित्र थप किचलो देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय