नौ महिनामा १३ खर्बको आयात, व्यापार घाटा ११ खर्ब नाघ्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १२.१८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

यही अवधिमा नेपालले एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यो निर्यात अघिल्लो वर्षको तुलनामा ६५.१६ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको नौ महिनामा एक खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको थियो।

विभागका अनुसार सोयाबिन तेल, सनफ्लावर तेल, अलैची, कपडा (टेक्सटाइल) र फलामजन्य सामग्रीजस्ता वस्तुहरू सबैभन्दा बढी निर्यात भएका छन्।

यद्यपि निर्यात वृद्धिका बावजुद आयात अझै उच्च रहेकोले व्यापार घाटा बढेको छ। नौ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४५ प्रतिशतले बढी हो।

कुल आयात–निर्यात कारोबार १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ।

प्रतिक्रिया