संयुक्त राज्य अमेरिकाको सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ। तर, यो अनुमतिले ट्रम्प प्रशासनले नेपालले अमेरिकाबाट प्राप्त अनुदानको समीक्षाबाट निस्कने कुनै निश्चित निष्कर्षलाई सङ्केत नगर्ने एमसीए नेपालले जनाएको छ।
यसअघि फेब्रुअरीमा अमेरिकी सरकारले नेपाललाई एमसीसी अन्तर्गतको अनुदानको भुक्तानी समीक्षाका लागि ९० दिनको स्थगन गरिएको जानकारी दिएको थियो।
अघिल्लो हप्ता एमसीए नेपालसँग सम्बन्धित कतिपय खरिदका बोलपत्र सार्वजनिक गरिएको थियो। त्यसको तीन दिनपछि एमसीए नेपालले अमेरिकाले कम्प्याक्ट अन्तर्गतका केही कार्यहरू अघि बढाउन अनुमति दिएको जानकारी गराएको हो।
एमसीए नेपालले जारी गरेको विज्ञप्तिअनुसार, अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद प्रक्रियाहरू तथा कार्यालय सञ्चालनका लागि आवश्यक कार्यहरू समेटिएका छन्। एमसीए नेपालले पारदर्शितालाई प्राथमिकता दिँदै कामको पुनः सुरुवातको तयारी गरिरहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा थप भनिएको छ कि एमसीए नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाका अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको छ। साथै, नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग निकट समन्वय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ।
अघिल्लो हप्ता अर्थ मन्त्रालयका प्रवक्ताले अमेरिकाबाट एमसीसी अन्तर्गतका भुक्तानी खुला गरिएकोबारे थप पत्राचार प्राप्त नभएको जानकारी दिएका थिए।