काठमाडौं । तिहार सुरु भएपछि भक्तपुरदेखि बजारसम्म सयपत्री र मखमली फूलको मूल्य आकासिएको छ। फूलको मूल्य एक सातामै तेब्बर बढेपछि उपभोक्ता मारमा परेका छन्।
भक्तपुरको सूर्यविनायक–७ गुण्डुका किसानले एक हप्ता अघि किलोको रु ३०० मा बिक्री गरेको सयपत्री फूल आज रु ७०० मा बेचेका छन्। त्यही फूल व्यापारीले बजारमा एक हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्।
मध्यपुरथिमिका प्रकाश झाले एक सयपत्रीको माला एक हजार पाँच सय रुपैयाँमा खरिद गरेको बताए। व्यापारी प्रमिला लामाका अनुसार किसानले उत्पादनस्थलमै मूल्य बढाएकाले बजारमा पनि मूल्य बढाउनुपरेको हो।
भक्तपुरमा टनेलमा उत्पादन भएको सयपत्री फूल किलोको रु १,३०० मा बिक्री भइरहेको छ। त्यस्तै, मखमली फूलको माला दुई दिनमै ३० रुपैयाँबाट १०० रुपैयाँ पुगेको छ।
गुण्डुका पुष्प व्यवसायीहरूका अनुसार गुणस्तरीय फूलका कारण माग उच्च भएको छ। यस वर्ष गुण्डु क्षेत्रबाट मात्र करिब पाँच करोड रुपैयाँ बराबरको फूल तथा माला बिक्री भएको पुष्प व्यवसायी अनिता बस्नेतले बताइन्।
बजारमा फूलसँगै लक्ष्मीपूजाका लागि आवश्यक भोगटे र बिमिरोको मूल्य पनि बढेको छ। भोगटे प्रतिगोटा रु ६० बाट १५० पुगेको छ भने बिमिरो रु ३० बाट १००–१५० सम्ममा बिक्री भइरहेको छ।
मूल्यवृद्धिले तिहारका तयारीमा जुटेका सर्वसाधारणलाई थप भार परेको उपभोक्ताहरूले बताएका छन्।