• गृहपृष्ठ /
  • Breaking News ,
  • उद्योग/ कर्पोरेट ,
  • व्यापार/व्यवसाय

११ महिनामा नेपालको वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। भन्सार विभागका अनुसार समीक्षा अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १४.७८ प्रतिशतले वृद्धि भएको हो।

विभागको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म नेपालको आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो।

यस्तै, चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म निर्यात १२.२८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

निर्यातमा सुधार देखिए पनि आयात उच्च दरमा बढिरहेकाले मुलुकको व्यापार घाटा थप फराकिलो बनेको छ। समीक्षा अवधिमा व्यापार घाटा १५.६७ प्रतिशतले वृद्धि भएर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ नाघेको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

आयात–निर्यात अनुपातमा भने सामान्य सुधार देखिएको छ। अघिल्लो वर्ष ६.६४ रहेको यो अनुपात चालु आर्थिक वर्षमा बढेर ६.८१ पुगेको छ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने घटेको छ। अघिल्लो वर्ष १३.०८ प्रतिशत रहेको निर्यातको हिस्सा चालु वर्षमा १२.८० प्रतिशतमा झरेको छ। विपरीत रूपमा आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।

तथ्याङ्कले निर्यात वृद्धि भए पनि नेपाली अर्थतन्त्र अझै आयातमुखी रहेको र व्यापार सन्तुलनमा चुनौती कायम रहेको देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय