राष्ट्रिय सूचना आयोगले धादिङस्थित ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। आयोगको आदेश नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका स्थायी बासिन्दा टेकमान शाक्यको सूचनामागसम्बन्धी पुनरावेदनपछि आएको हो।
शाक्यले २०८१ साल फागुन २० गते गाउँपालिकासँग जानकारी मागेका थिए। तर गाउँपालिकाले "बेरुजू देखिएको" भन्ने कारण देखाउँदै सो सूचना उपलब्ध गराएको थिएन। प्रमुख प्रशासकीय अधिकृत सुरेश थापा र सूचना अधिकारी अनिता छत्कुलीले माग गरिएको सूचना उपलब्ध नगराएको भन्दै शाक्यले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन दर्ता गरेका थिए।
सोही निवेदनमाथि सुनुवाइ गर्दै आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश प्रसाद आचार्य र सूचना आयुक्त दुर्गा भण्डारी पौडेलको संयुक्त आदेशमा गाउँपालिकालाई ७ दिनभित्र स्पष्ट आधार र प्रमाणसहित लिखित जवाफ पेस गर्न निर्देशन दिइएको हो।
यदि सूचना नदिनुपर्ने कुनै कारण भए त्यसको ठोस आधार पेश गर्न भनिएको आयोगको आदेशमा उल्लेख छ।