काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लगाइएका भ्रष्टाचार तथा अनियमिततासम्बन्धी आरोपहरूको कडा प्रतिवाद गर्दै कुनै पनि प्रकारको बेइमानी प्रमाणित भए पदमात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयमा बसेर करका दर हेरफेर गरी निश्चित व्यापारीलाई फाइदा पुर्याएको भन्ने आरोप निराधार रहेको दाबी गरे। आफूविरुद्ध सार्वजनिक रूपमा उठाइएका आरोपको तथ्यगत आधार नरहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सार्वजनिक लेखा समितिमा समेत आफूविरुद्ध प्रकाशित समाचार र आरोपहरूको खण्डन गरिसकेको उल्लेख गर्दै सुशासनको एजेन्डामा प्रतिबद्ध सरकार जनताको विश्वासमाथि कुठाराघात गर्ने अवस्थामा नरहेको बताए।
‘२ अर्ब रुपैयाँको अनियमितताको आशंका गरिएको छ। तर मबाट २ अर्ब होइन, २ रुपैयाँ बराबरको पनि बेइमानी भएको प्रमाणित भए म मन्त्री पद त्याग्न तयार छु। आवश्यक परे सार्वजनिक जीवन नै छाड्न पनि पछि हट्दिनँ,’ उनले भने।
उनले आफूमाथि प्रश्न उठाउने सांसदहरूलाई पनि नैतिकता र जवाफदेहिताको मापदण्डमा उभिन आग्रह गर्दै आवश्यक परे उनीहरूका विगतका विवादित प्रकरणहरू पनि सार्वजनिक हुन सक्ने चेतावनी दिए।
‘मप्रति औंलो ठड्याउने माननीयज्यूहरूले पनि आफूलाई त्यही नैतिक उचाइमा राख्न सक्नुपर्छ। तपाईंहरूका काण्डबारे पनि हामी अनभिज्ञ छैनौं, ती पनि खुल्दै जानेछन्,’ उनले भने।
अर्थमन्त्री वाग्लेले सरकार सुशासनको कठोर एजेन्डासहित अघि बढिरहेको दाबी गर्दै व्यक्तिगत आरोप लगाउनुभन्दा अघि तथ्य र प्रमाणका आधारमा कुरा गर्न आग्रह गरे।