काठमाडौंमा नक्कली कागजात बनाउने गिरोहको पर्दाफास

काठमाडौं — प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित फुटुङ क्षेत्रमा रहेको एक घरमा छापा मार्दै नक्कली कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कारबाही गर्दै उक्त कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा ४६ वर्षीय अन्जन बयलकोटी (गोरखा, हाल तारकेश्वर–२), २८ वर्षीय निर्मल खड्का (ओखलढुङ्गा, हाल बूढानीलकण्ठ–१२), र २३ वर्षीया अञ्जु खत्री (मकवानपुर, हाल चन्द्रागिरि–१) रहेका छन्।

अनुसन्धान अनुसार, मुख्य योजनाकार अन्जन बयलकोटीले विगत आठ वर्षदेखि विभिन्न सरकारी तथा निजी संस्थाहरूका कागजातहरू — सिफारिस पत्र, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र, र अन्य दस्तावेजहरू — किर्ते गरेर बिक्री वितरण गर्दै आएका थिए।

फुटुङस्थित भाडाको घरमा उनले दुई जना सहयोगीलाई मासिक रु १० हजार तलबमा राखी नक्कली कागजात तयार गराउने गरेका थिए। प्रहरीले घटनास्थलबाट विभिन्न रबर स्ट्याम्प, कागजातहरू, तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित सामग्रीहरू समेत बरामद गरेको छ।

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार यस गिरोहले ठूलो संख्यामा नक्कली कागजात उत्पादन तथा वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिक्रिया