मध्यपूर्वमा एकपटक फेरि तनाव चुलिएको छ। लेबनानमा इजरायलले आक्रमण तीव्र बनाइरहेका बेला इरान र हिजबुल्लाहले संयुक्त रूपमा इजरायलमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेका छन्।
आक्रमणपछि इजरायलका विभिन्न क्षेत्रमा चेतावनी साइरन बजाइएको थियो भने हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। इजरायली पक्षले अधिकांश मिसाइल तथा ड्रोनलाई आकाशमै निष्क्रिय पारिएको दाबी गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार लेबनानको राजधानी बेरुत र हिजबुल्लाहसँग सम्बन्धित क्षेत्रहरूमा इजरायलले गरेको हवाई आक्रमणको जवाफस्वरूप इरान र हिजबुल्लाहले यो कदम चालेका हुन्।
पछिल्ला केही महिनायता तुलनात्मक रूपमा शान्त देखिएको क्षेत्र पुनः द्वन्द्वतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ। इरानले आवश्यकता परे थप जवाफ दिन सक्ने चेतावनी दिएको छ भने अन्तर्राष्ट्रिय समुदायले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
यस घटनाले मध्यपूर्वमा नयाँ युद्धको जोखिम बढाएको छ। क्षेत्रीय स्थायित्व र सुरक्षा अवस्थामाथि गम्भीर असर पर्न सक्ने भन्दै विश्व समुदायले घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।