प्रधानमन्त्रीको प्रतिबद्धता: सरकारलाई असफल हुन दिइँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको संवेदनशील परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार गठन भएकाले यसलाई असफल हुने कुनै पनि छुट नरहेको र यसलाई असफल हुन नदिइने बताएका छन्।

संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने क्रममा ओलीले अघिल्लो सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको र जनतामा निराशा उत्पन्न भएकाले दुई प्रमुख दलले नेतृत्व लिनुपरेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, "यी दुई दलले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका छन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी दलहरूको मुलुकको विकास र परिवर्तनमा मुख्य भूमिका रहेको छ। त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यो सरकारलाई असफल हुने कुनै छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन।"

बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरू लगायत विशिष्ट पदाधिकारीहरू उपस्थित थिए।

"असफल हुँदैन भनेर हामी आरामले बसेर सफल हुन सक्दैनौं। भाग्यमा छ भन्दैमा कुनै काम पूरा हुँदैन। हामीले यो आर्थिक वर्षमा सफलताको संकेत दिनुपर्छ र अर्को आर्थिक वर्षमा त्यो सफलतालाई अझ बढाउँदै लानुपर्छ," प्रधानमन्त्रीले भने। "यो सरकार क्रियाशील सरकार हो। देशका लागि केही गर्नुपर्छ भन्ने अठोट भएको सरकार हो। यसले कुनै पक्षपात नगरी निर्णय लिन्छ।"

ओलीले सरकारको स्थायित्वमा शंका नगर्न आग्रह गर्दै, आफूले सहमति बमोजिम दुई वर्ष पूरा भएपछि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार स्थिरताको सन्देश दिने स्पष्ट पारे।

"त्यसकारण यो सरकार ढल्ने त के, ढलपल पनि हुँदैन। कर्मचारीहरूले ढुक्कले काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिन्छ," प्रधानमन्त्रीले भने।

ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकांक्षा अनुसार जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए।

प्रतिक्रिया