मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना देशभर बदली, बाग्मती–गण्डकीमा मध्यमदेखि भारी वर्षा हुने

काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदा विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ, साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेका कारण आगामी दिनमा मनसुन गतिविधि अझ सक्रिय हुने देखिन्छ।

यस समय बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली छ। बाग्मतीका केही क्षेत्र, गण्डकी र कर्णालीका थोरै स्थान र लुम्बिनी प्रदेशका केही भूभागमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहने अनुमान छ। पहाडी भूभागका विभिन्न स्थान र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी प्रदेशको तराई क्षेत्र, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी भागमा बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मध्यम वर्षा र गण्डकीका पहाडी भूभाग तथा लुम्बिनीको तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय