पतञ्जलि प्रकरणमा बैंकिङ अनियमितता र सम्पत्ति शुद्धीकरणको नयाँ मोड

उद्योग सञ्चालनका लागि सरकारबाट हदबन्दी छुटमा खरिद गरिएको जग्गा अपचलनको आरोप लागेका पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र सञ्चालक शालिग्राम सिंहविरुद्ध अब बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि अघि बढाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले संयुक्त रूपमा नयाँ मुद्दामा अनुसन्धान थालेका हुन्।

भारतबाट ल्याइएको दुई अर्ब रुपैयाँभन्दा बढी रकम नेपालमा मुनाफा नकमाउने उद्योग सञ्चालनका लागि भनी ल्याइएको भए पनि त्यसलाई घरजग्गा कारोबार र निजी लगानीमा खर्च गरिएको पाइएपछि अख्तियारले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो। यसबाहेक, वैदेशिक लगानीको रूपमा ल्याइएको रकमलाई 'रेमिट्यान्स' शीर्षकमा देखाएर नियमविपरीत प्रयोग गरिएको भन्दै CIB लाई अनुसन्धानको लागि पत्राचार गरिएको छ।

अख्तियारले यसअघि सिंहसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। त्यसमध्ये तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीहरू, सचिवहरू र अन्य कर्मचारी समेत मुछिएका छन्। उनीहरूबाट १८ करोड ५८ लाख रुपैयाँ बराबरको बिगो माग गरिएको छ।

सिंहले पतञ्जलि नेपालका लागि भनेर विभिन्न स्थानहरूमा गैरकानुनी रूपमा हदभन्दा बढी जग्गा खरिद र प्रयोग गरेको, सरकारी गुठीको नाममा रहेको जग्गा पनि कम्पनीमा नामसारी गरी हिनामिना गरेको प्रमाण फेला परेको छ। विशेषगरी काभ्रेको बनेपा, महेन्द्र ज्योति, साँगा, काठमाडौं उपत्यका र अन्य जिल्लामा यस किसिमका गतिविधि देखिएको हो।

सिंहले नेपालमा पतञ्जलि उद्योग सञ्चालन गर्ने नाममा भारतबाट ल्याइएको रकमलाई रिजाल क्यानिङ कम्पनीलगायत संस्थामा लगानी गरी सट्टापट्टा गरेको पनि पत्ता लागेको छ। राष्ट्र बैंक, समाज कल्याण परिषद् र अन्य नियामक निकायको अनुमति बिना नै एसबीआई र एभरेस्ट बैंकमार्फत विप्रेषणको रूपमा ठूलो रकम ल्याएको पाइएपछि अख्तियारले यो सम्पूर्ण प्रक्रिया शंकास्पद भएको ठहर गरेको छ।

यो प्रकरणसँग सम्बन्धित लेखापरीक्षक र बैंकका कर्मचारीको संलग्नता समेत रहेको हुनसक्ने ठहर गर्दै अनुसन्धान अझ विस्तार गरिएको छ। बैंकिङ कसुर तथा विदेशी विनिमय, राष्ट्र बैंक ऐनलगायत प्रचलित कानुन उल्लंघन भएको ठहर गर्दै थप कारबाही प्रक्रिया अघि बढाइएको छ। today Kantipur daily

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय