काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फ लागू हुने इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गर्दै बुधबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।
नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट ४० रुपैयाँ अर्थात् १४.८७ प्रतिशतले घटेर २२९ रुपैयाँ कायम भएको थियो। सोही आधारमा प्राधिकरणले आन्तरिक उडानका लागि लागू हुने इन्धन सरचार्ज पुनः समायोजन गरेको जनाएको छ।
प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित इन्धन सरचार्जसहितको नयाँ हवाई भाडादर तत्काल कार्यान्वयन गर्नुपर्नेछ। उनले प्राधिकरणले निर्धारण गरेको नयाँ दर लागू नगर्ने वा अवज्ञा गर्ने वायुसेवा कम्पनीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।
नयाँ व्यवस्था लागू भएसँगै सुगम तथा दुर्गम दुवै क्षेत्रका आन्तरिक उडानको भाडामा कमी आउने भएको छ। यसबाट नियमित हवाई यात्रा गर्ने यात्रुहरूले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।
हवाई इन्धनको मूल्यमा आएको गिरावटपछि उडान सञ्चालन लागत घटेकाले त्यसको लाभ यात्रुसम्म पुर्याउने उद्देश्यले इन्धन सरचार्ज समायोजन गरिएको प्राधिकरणले जनाएको छ। यात्रुहरूले अब गन्तव्यअनुसार केही कम भाडामा हवाई सेवा उपयोग गर्न सक्नेछन्।