पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब राजश्व उठ्यो

काठमाण्डौं - सरकारले चालु आर्थिक वर्षको ६ महिना अर्थात् साउनदेखि पुससम्ममा ४ खर्ब ९६ अर्ब बराबरको राजस्व संकलन भएको छ । 

जसमा पुस महिनामा मात्रै १ खर्ब ३३ अर्ब राजस्व संकलन भएको छ । यसअघि मंसिरसम्ममा सरकारले कुल ३ खर्ब ६३ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्य अहिलेसम्ममा ३४.९% उठेको हो । बजेटमार्फत सरकारले चालु आर्थिक वर्ष कुल १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पुससम्ममा सरकारको अन्य आम्दानीसहित कुल आम्दानी भने ५ खर्ब १८ अर्ब रुपैयाँ छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको खर्च भने ५ खर्ब ६६ अर्ब भएको छ । चालु आर्थिक वर्षमा सरकारले लिएको कुल खर्च लक्ष्यमध्ये अहिलेसम्मको खर्च ३२.३५% हो । 

यता, यो अवधिमा कुल वार्षिक लक्ष्यको १६.९% पुँजीगत खर्च भएको छ भने ३८.३१% चालुगत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्ष कुल ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लक्ष्य लिएको छ भने चालु खर्च ११ खर्ब ४१ अर्बको अनुमान छ । त्यस्तै, वित्तीय खर्च ३ खर्ब ७ अर्ब हुने अनुमान रहेकोमा अहिलेसम्म महिनामा २६.०२% वित्तीय खर्च भएको छ ।

प्रतिक्रिया