काठमाडौं - केन्द्रले गरेको गठबन्धन प्रति कांग्रेसमा निकै असन्तुष्टि छ । देशभरिमा सबैभन्दा तारो भरतपुर बनेको छ । आज यहाँ दर्जनौं नेताले सामूहिक राजीनामा दिएका छन् ।
अहिले पनि मेयर माओवादीलाई दिन थालिएको भन्दै नेताहरुले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका छन्।
शनिबार भरतपुर-१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्। स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन्।
उनीहरूले पार्टीको नेतृत्व सत्तालिप्त भएको आरोप लगाउँदै स्वतन्त्र अभियान चलाउने घोषणा गरेका थिए। गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए।