काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउन एकीकृत बिमा प्रणाली लागू गर्ने तयारी गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारको सय दिनको उपलब्धिका रूपमा नयाँ बिमा प्रणाली घोषणा गर्ने तयारी गरिरहेका छन्।
सरकारले हाल बर्सेनि विभिन्न शीर्षकमा ३० अर्बभन्दा बढी स्वास्थ्य उपचारमा खर्च गर्दै आएको छ। यसलाई एकीकृत बिमा प्रणालीमा समेटेर नागरिकको उपचारलाई अझ प्रभावकारी बनाउने योजना रहेको छ।
प्रस्तावित योजनाअनुसार, स्वास्थ्य बिमाको प्रिमियमबाट संकलित रकम, को-पेमेन्ट, करदाताबाट संकलित रकम, र चिनीजन्य पदार्थमा कर लगाएर स्रोत जुटाइनेछ। बिमाबाट दीर्घरोगीहरूलाई पाँच लाखसम्मको उपचार सुविधा उपलब्ध गराउने प्रस्ताव पनि गरिएको छ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाका अनुसार, यो प्रस्तावले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने र नागरिकको उपचारलाई सहज बनाउने अपेक्षा गरिएको छ। Kantipur Daily