कांग्रेसका महामन्त्री गगन र विश्वले भने–‘लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपाली भूमि हुन्’


काठमाडौं–भारतले सीमा मिचेको प्रति नेपाली कांग्रेसले आपत्ति व्यक्त गरेको छ । नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले आज संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपाली भूमि भएको प्रष्ट पारेका छन् । महामन्त्री द्वयले लिपुलेक–लिम्पियाधुराबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आपत्ति प्रकट गरेका छन् । 


भारतीय प्रधानमन्त्री मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर दुई साताअघि एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गरेका हुन् ।  कांग्रेसका दुई महामन्त्रीले  कांग्रेस पहिलेदेखि नै भारतद्वारा अतिक्रमित भूमिबारे प्रष्ट रहेको बताएका छन् । ‘नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ’, उनीहरुले भनेका छन्,’कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’


लिपुलेकमा बनिरहेको सडक अविलम्ब रोकिनुपर्ने माग राखेका छन् । सन् १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा प्रष्ट रहेको बताएका छन् । नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेको उनीहरुको भनाई छ ।


अघिल्लो वर्ष पारित नक्साकै आधारमा नेपालको भूमि कायम हुनुपर्ने पनि उनीहरुले बताएका छन् ।  नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ,’दुई राष्ट्रबीचको सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । ‘दुवै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहिआएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ’यसर्थ सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।’


 

प्रतिक्रिया