पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले घरेलु बजारमा पनि इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ। नयाँ मूल्य दर चैत २ गते बिहान १२:०१ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।

नयाँ समायोजन अनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेल १५२ रुपैयाँ पुगेको छ। त्यस्तै दोस्रो वर्गका क्षेत्र सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ। पहिलो वर्गअन्तर्गत पर्ने तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुने निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारबाट प्राप्त पछिल्लो लागत मूल्यका आधारमा पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१६ रुपैयाँसम्म मूल्य बढेर आएको छ। तर उपभोक्तामाथि अत्यधिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य स्थिरीकरण कोष प्रयोग गरी सीमित मात्रामा मूल्य वृद्धि गरिएको निगमको दाबी छ।

यति मात्र मूल्य बढाउँदा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। निगमले विगतमा रुस–युक्रेन युद्धका कारण इन्धनको भुक्तानीमा समस्या हुँदा आपूर्ति प्रभावित भएको अनुभव स्मरण गर्दै हालको परिस्थितिमा आपूर्ति प्रणाली सहज राख्न मूल्य समायोजन आवश्यक भएको स्पष्ट पारेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै नेपालमा पनि मूल्य घटाइने प्रतिबद्धता निगमले जनाएको छ।

प्रतिक्रिया