काठमाडाैं - सरकारले सामान आयातमा खुकुलो नीति लिएसँगै व्यापार घाटा पुनः वृद्धि हुन थालेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७८ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको दुई महिनामा नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँको तुलनामा बढी हो। आयातमा वृद्धिसँगै निर्यातमा कमी आएकोले व्यापार घाटा विस्तारै बढ्न थालेको हो।
नेपालबाट केही वर्षअघि पाल्म आयल निर्यात बढ्दा निर्यातको आँकडा सुधारिएको देखिए पनि अहिलेको अवस्था निराशाजनक छ। भन्सार विभागका अनुसार चालु आवको दोस्रो महिनामा वस्तु तथा सेवा आयात १.०८ प्रतिशतले बढेको छ भने निर्यात ५.१२ प्रतिशतले घटेको छ। भदौ मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख रुपैयाँ थियो।
भदौ मसान्तसम्म २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ, जसमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.०८ प्रतिशतको वृद्धि देखिएको छ। निर्यात भने निराशाजनक रूपमा घट्दै गएको छ, भदौ मसान्तसम्म २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन गत आवको सोही अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ थियो। यस अवधिमा नेपालको निर्यात ५.१२ प्रतिशतले घटेको देखिन्छ।