जाजरकोटमा पहिरोले एक जनाको मृत्यु, तीन जना बेपत्ता

Symbolic photo

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना सम्पर्कविहीन भएका छन्। पहिरोमा परी नौ जना घाइते भएका छन्।

मृत्यु हुनेमा भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्की रहेका छन्। पहिरोमा परी हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेका कार्कीलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति १०ः५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो। उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घरहरू भत्काउनुका साथै केही घर जोखिममा परेपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली परिचालन गरिएको छ।

पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा भने हाल मानिस बसोबास नगर्ने जनाइएको छ।

पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई नेपालगञ्ज रिफर गरिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ।

भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पतालबाट सुर्खेत रिफर गरिएको छ।

त्यस्तै, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक र करिब २३ वर्षीया अनिता कार्की घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकल तथा जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

भेरी नगरपालिका–२ रिसाङका लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाही र सोही स्थानकी ४५ वर्षीया सुन्तली चदरा पनि घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

यसैबीच पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन तीनै जनाको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको र घटनाको थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय