सोमबार निफ्राको १८ लाख शेयर खरिद माग,आज पनि मूल्य आक्रमक बढ्ने संकेत

काठमाडौं - हामीले हिजो नेपाल पूर्वाधार विकास बैंकको शेयर मूल्य बढ्न सक्ने अनुमान गरेका थियौं । केही नयाँ योजनामा हात हाल्ने समाचार आएसँगै यो कम्पनीको शेयर मूल्य बढेको हुन सक्ने अनुमान छ । 

सोमबार यो कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ भने शेयर मूल्य पनि करिब ९ प्रतिशत बढेको छ । बजार सामान्य रहेको अवस्थामा पनि यो कम्पनीको शेयर खरिद माग १९ लाख हाराहारी सम्म पुगेको थियो भने बिक्री केबल २ लाख माथि थिए । 

हिजोको यो अवस्था हेर्दा यो कम्पनीको शेयर मूल्य अझ बढ्ने संकेत गरेको शेयर बजार बारे जानकारहरूको बताउँछन् । 

बैंकले सुरु गर्न लागेको नयाँ योजना यस्तो छ - 

बैंकले पाँचखालमा स्मार्ट सिटी निर्माण गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो ।

सार्वजनिक–निजी साझेदारीमा परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने र पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको थियो ।

करिब चार हजार ५०० रोपनी क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब २ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बैंकका कार्यकारी अधिकृत खतिवडाका अनुसार निफ्राले आफ्नो सञ्चालक समितिको स्वीकृतिमा जेएलएल संस्थालाई बजार अध्ययनको जिम्मा दिने भएको छ ।

निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ ।

जेएलएलले करिब दुई महिना अध्ययन गर्नेछ । निफ्राले स्मार्ट सिटीको विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय जनता तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काममा सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताए ।

उनका अनुसार निफ्राले त्यस कार्यका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिनेछ ।

विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहरका रूपमा बुझिन्छ । नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रुपमा लिइन्छ ।

उद्यमशीलताको विकास एवं प्रबद्र्धन गर्न नगरपालिकाले अन्य वित्तीय संस्थासँग सम्झौता गरिरहेको छ ।

उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नवील बैंकसँग पनि सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको थियो ।

नगरलाई ‘कृषि सहर’का रुपमा विकसित गर्न विभिन्न गतिविधि अघि पनि बढाइएको छ । यसका लागि नगरले विभिन्न शीर्षकमा अनुदान तथा औँजार प्रदान गर्दै आएको छ ।

विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर अझ वृहत बनाइएको थियो ।

तेह्र वडामा विभाजित नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको र त्यसभित्र हाल ३५ हजार ९९२ नागरिकको बसोबास रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय