प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाताबाट उक्त रकम कोषमा जम्मा भएको हो।

विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि सरकारले मन्त्रिपरिषद् बैठकमार्फत प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि कोषमा व्यक्ति तथा संस्थाबाट सहयोग रकम जम्मा हुन थालेको हो।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूबाट रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्।

व्यक्तिगततर्फको नगद सहयोग भने दाताहरूले अर्थ मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

पछिल्लो सहयोगसँगै कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।

यसअघि बिहीबार मात्रै ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग भने समावेश गरिएको छैन।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय