भिजिट भिसा सेटिङ काण्ड: अध्यागमनका पूर्व प्रमुख भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा प्रक्रियामा हुने ‘सेटिङ’मार्फत यात्रुहरूबाट घुस असुलेको आरोपमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अध्यागमनमा भिजिट भिसा प्रक्रियामा जानाजानी कागजात अभिलेख नगरी यात्रुलाई हैरानी पार्ने र त्यसको बदलामा घुस उठाउने कार्य लामो समयदेखि सञ्चालन हुँदै आएको थियो। भट्टराईले ट्राभल व्यवसायी बालकृष्ण खड्का र दीपक भण्डारीसँग मिलेर यात्रुको नाम, गन्तव्य र लिने रकम छुट्टै दररेट राखेर अवैध रकम असुलेको अनुसन्धानले देखाएको छ।

 

भट्टराईको डायरीमा पुरुष यात्रुसँग २० हजार र महिला यात्रुसँग ४० हजार रुपैयाँ लिएको दयारहित हिसाब राखिएको भेटिएको अख्तियारले जनाएको छ। उनी यात्रु परिचालन गर्ने व्यक्तिसँग दैनिक सम्पर्क राख्ने, उपहार ग्रहण गर्ने र उठेको घुसलाई कविता पौडेल तथा खेमप्रसाद सुवेदीमार्फत जग्गामा लगानी गर्ने गरेको प्रमाण डिजिटल फरेन्सिक परीक्षणबाट समेत खुलेको बताइएको छ। कविता पौडेलको नाममा दर्ता गरिएको मोबाइल सिम भट्टराईले आफैँ प्रयोग गरी यात्रुको गोप्य सूची आदानप्रदान गर्ने गरेको तथ्य पनि फेला परेको छ।

 

यही क्रममा, भट्टराईले कार्यालयका अधिकृत यज्ञराज अर्याललाई घरमै बोलाएर ८ लाख रुपैयाँ दिएको स्वीकारोक्ति बयान र रेस्टुरेन्टको झोलामा ‘पार्सल’का नाममा रकम बुझाउँदै आएको विवरण पनि प्रमाणका रूपमा प्रस्तुत गरिएको छ।

 

अनुसन्धानका क्रममा विदेश पठाइएका केही व्यक्तिहरू नेपाल फर्किएपछि अख्तियारमा उजुरी लिएर आएका थिए। उनीहरूले अध्यागमन प्रक्रियामा झुटा सपना देखाइएकाले ठगीमा परेको, विदेशमा अर्कै काममा लगाइएकाले यातना भोगेको र तिरेको पैसा फिर्ता नपाएको भनी बयान दिएका छन्। भिजिट भिसाका लागि अनिवार्य ६ बुँदे कागजात प्रणालीमा नअपलोड गरी यात्रा अवरुद्ध बनाइने र त्यसको सट्टामा घुस मागिने गरेको ठहर अख्तियारले गरेको छ।

 

भट्टराईको मोबाइल र ल्यापटपको फरेन्सिक परीक्षणमा यात्रुको पासपोर्ट प्रतिलिपि, घुस हिसाब भएका फोटो डायरी र पछि मेटाइएको डेटा समेत फेला परेको आयोगले जनाएको छ।

 

अख्तियारले भट्टराई, यज्ञराज अर्याल, बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्का, कविता पौडेल, खेमप्रसाद सुवेदी तथा सम्बन्धित दुई ट्राभल कम्पनी विरुद्ध मुद्दा दायर गरेको हो। भट्टराईमाथि मात्र ७९ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ मागिएको छ। मनी–लन्डरिङमा संलग्न तीन जनामाथि छुट्टै मुद्दा चलाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय