शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी कुराहरू बुझ्नै पर्छ

काठमाडौं - अहिलेको शेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण र व्यापक सहभागिता रहेको छ । जसले गर्दा केही विकृतिहरू पनि देखिएको धेरैको दाबी छ । शेयर बजारमा प्रवेश पूर्व केही अध्यन नगरी लगानी गर्दा लगानी जोखिममा पर्ने गरेको छ । 

बजारमा आएका नयाँ लगानीकर्ताहरुलाई कस्ता कम्पनीमा लगानी गर्ने ? कुन समयमा लगानी गर्ने ? लगानी गर्दा कम्पनीको कुन-कुन पक्षमा ध्यान दिने जस्ता आधारभूत पक्षहरुबारेमा जानकारी नहुँदा कतिपय लगानीकर्ताहरुले नोक्सानी व्यहोरिरहेका छन् ।

सेयर खरिद गर्न चाहने लगानकर्ताले सम्बन्धित कम्पनीको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी उक्त कम्पनीको व्यवसायको प्रकृति, कार्यसम्पादन,आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण, संगठित संस्थाहरुद्वारा समयसमयमा प्रवाह गरिने सूचनाहरू जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ । 

दोस्रो बजारमा धितोपत्र किनबेच गर्दा जोखिम, प्रतिफल तथा भविष्यको सम्भावना सम्बन्धी पूर्ण ज्ञान र पूर्ण होशियारी साथ गर्नुपर्दछ ।

यसका साथै, स्टक एक्सचेन्ज मार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना समेत हेरी लगानी सम्बन्धमा निर्णय गर्नु बढी सुरक्षित हुन्छ । 

लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरु लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नु बढी उपयुक्त हुन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानीको अवस्था कस्तो छ भन्ने कुराको जानकारी लगानीकर्तालाइ हुनु पर्दछ । लगानी गर्दा कम्पनीको पछिल्ला बर्षहरुको प्रतिसेयर आम्दानीको अनुपात हेरी पहिलेका बर्षहरुभन्दा आम्दानी बढेको र बढ्न सक्ने कम्पनी छनौट गर्नु पर्दछ । सकेसम्म प्रतिसेयर आम्दानी बढि भएका कम्पनीहरुमा लगानी गरेमा त्यस्तो लगानीले बढि मुनाफा दिन सक्दछ ।

कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढि सुरक्षित हुन सक्दछ ।

त्यसैगरी, धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले व्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् । आफुले सेयर खरीद गरेको कम्पनीको गतिविधिहरुबारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय