काठमाण्डौ - एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ ।
बैठकमा अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको नेताहरुले बताएका छन् ।
तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण्डा वा ‘पावर सेयरिङ’ खोजेको नभई पार्टीभित्र सम्मानजनक एकता र प्याकेजमा सहमति खोजेको बताउँछन् । नेपाल पक्षका एक कार्यदल सदस्यले भने, ‘हामीले पावर सेयरिङ खोजेको होइन ।’
उता ओली पक्षले भने जेठ २ मा फर्किसकेको दाबी गर्दै केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गर्दै यसबाहेक नेपाल पक्षसँग कुनै पनि डिल नगरिने बटमलाइन बनाइएको छ ।
बुधबार दुई नेतावीचको कुराकानीमा यसैमा कुरो अड्किएको स्रोतले बतायो ।
मेरियट भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादसमेत भएको थियो । उक्त भेटमा ओलीले गम्भीर सङ्कट आइलागेको नेता नेपाललाई बताएका थिए । तर साँझको भेटमा ओलीले पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखे पछि सहमति हुन सकेन । मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।